काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट देश विकास सम्भव नभएको भन्दै सरकारले आशा जगाउने काम गर्न जरुरी रहेको बताएका छन् । नयाँ प्रतिनिधिसभा गठनपश्चात् शुक्रबार (चैत २७) संघीय संसद्को संयुक्त बैठकमा पहिलोपटक सम्बोधन उनले निराश जनशक्तिबाट उपलब्धि हासिल भएका उदाहरण अन्तर्राष्ट्रिय रूपमा पनि नभएको बताए ।
“निराश जनशक्तिबाट कुनै पनि मुलकको प्रगति भएको पाइँदैन,” राष्ट्रपति पौडेलले भने, “हाल युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यानकेन्द्रित गर्नेछ ।”
उनले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गरेर सरकार छ भन्ने प्रत्याभूति गरेपछि मात्र नागरिकमा आशा जाग्ने बताए । “भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रत्याभूत गर्न र आमनागरिकमा राज्यको प्रत्याभूति दिलाउन सार्वजनिक सेवा चुस्तदुरुस्त बनाउनुपर्छ,” उनले भने, “नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नेछ भन्ने पनि मेरो विश्वास छ ।”

