काठमाडौं । धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। संघीय संसद्को आजको बैठकमा भएको मतदानमा उनी अत्यधिक बहुमतसहित विजयी भएकी हुन्।

मतदानमा २५६ सांसद सहभागी भएका थिए, जसमा ठाकुरको पक्षमा २२९ मत परेको छ। विपक्षमा ५ मत परेको भने २२ सांसदले मत नदिएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेका छन्।

रुबीकुमारी ठाकुर श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीनेपाली कांग्रेस लगायतका दलले समर्थन गरेका थिए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी हुन्। लामाले आफ्नो दलका ५ सांसदको मात्र मत प्राप्त गरिन्।

श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले ठाकुर सम्भवत: विश्वकै कान्छी उपसभामुख बनेको दाबी गरेका छन्।

यससँगै नयाँ संसद् नेतृत्वमा युवा सहभागिता बढेको सन्देश गएको विश्लेषकहरूको भनाइ छ।