काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। लगातार तीन हारपछि चेन्नईले शनिबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै प्रतियोगितामा जितको खाता खोलेको हो।
२१३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमै समेटियो। दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याटर ट्रिस्टन स्टब्सले ३८ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। ओपनर पाथुम निस्सान्काले ४१ रन बनाए।
दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका जेमी ओभरटनले ४ विकेट लिए भने अंशुल काम्बोजले ३ विकेट झारे।
यसअघि टस जितेर फिल्डिङ रोजेको दिल्लीविरुद्ध पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका लागि सञ्जु सामसन ले ११५ रनको विष्फोटक अविजित शतकीय इनिङ्स खेल्दै टोलीको जितमा निर्णायक भूमिका निभाए।
यो जितसँगै चेन्नईले चार खेलमा पहिलो सफलता हासिल गरेको छ। प्रतियोगितामा अन्य टोलीहरूको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ, जहाँ राजस्थान रोयल्स अपराजित रहँदै शीर्ष स्थानमा छ भने पञ्जाब किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेका छन्।