काठमाडौं । गोकुल बास्कोटा ले वर्तमान सरकारका मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणप्रति तीव्र व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको समृद्धिको दाबीमाथि प्रश्न उठाउँदै देशको अवस्थालाई ‘लङ्का’सँग तुलना गरेका छन्।
पूर्वमन्त्री बास्कोटाले विशेषगरी मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुनतर्फ लक्षित गर्दै कटाक्ष गरेका हुन्। उनले लेखेका छन्— “डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ,” जसबाट उनले प्राकृतिक सौन्दर्यभन्दा पनि सत्तासँग जोडिएका व्यक्तिहरूको आर्थिक ‘समृद्धि’ अस्वाभाविक रूपमा बढेको संकेत गरेका छन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाह लगायत मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा देशमा समृद्धि आइसकेको जस्तो देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। “समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ,” भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बास्कोटाले नेपाली उखान “जहाँ कङ्गाल, त्यहाँ चण्डाल” उद्धृत गर्दै अहिले देश कङ्गाल अवस्थाबाट मुक्त भएको जस्तो देखिए पनि त्यो समृद्धि आम जनतामा नभई सत्ताको वरपर सीमित रहेको संकेत गरेका छन्।
उनले प्रधानमन्त्री शाहले चुनावी अभियानका क्रममा प्रयोग गरेको “झिक्कै झिक्कै मया तम्लाई” भन्ने अभिव्यक्तिसमेत स्मरण गर्दै वर्तमान सम्पत्ति विवरणसँग जोडेर व्यङ्ग्य गरेका छन्। “जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई!” भन्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
बास्कोटाको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई सशक्त राजनीतिक व्यङ्ग्यको रूपमा लिएका छन् भने केहीले अतिरञ्जित टिप्पणीको रूपमा आलोचना गरेका छन्।

