काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नहरूमाथि असन्तुष्टि जनाउँदै आलोचकहरूलाई कडा जवाफ दिएका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै गरिबी र कमाइबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

गुरुङले लेखेका छन्, “जन्मिँदा गरिब हुनु गल्ती होइन, तर मर्दा पनि गरिब नै हुनु भने आफ्नो गल्ती हो।” उनले सरकारमा प्रवेश गर्नुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्तिलाई गलत नठान्न आग्रह गर्दै, पदमा पुगेपछि भ्रष्टाचार गरेर कमाउनु भने अस्वीकार्य हुने बताएका छन्।

आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार गुरुङको नाममा गोरखा र धनकुटा जिल्लामा उल्लेख्य मात्रामा जग्गा रहेको देखिएको छ। विशेष गरी धनकुटामा मात्र १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरिएको छ, जसलाई उनले लगानीबाट आर्जित गरेको बताएका छन्। तर उक्त सम्पत्तिको स्रोतबारे स्पष्ट विवरण नखुलेको भन्दै प्रश्न उठेको छ।

यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ। साथै, बाजे रामसल गुरुङको नाममा गोरखाको चुननुब्री क्षेत्रमा २ सय २१ रोपनी (हालसम्म बाँडफाँट नभएको) जग्गा रहेको विवरणमा जनाइएको छ।

नेपालमा पहाडी क्षेत्रमा ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाइने कानुनी व्यवस्था भए पनि उक्त विवरणले हदबन्दी सम्बन्धी प्रश्नहरू उठाएको छ।