काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेन बीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको हो।

भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा बेलायतले पुर्‍याउँदै आएको सहयोगको सराहना गर्दै समावेशी शिक्षामा विशेष जोड दिनुपर्ने बताएका छन्। सरकारले सातै प्रदेशमा स्थापना गर्न लागेको ‘अटिजम स्कुल’ अवधारणालाई प्रभावकारी बनाउन स्रोत, प्रविधि र विशेषज्ञतामा बेलायतको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।

उनले विशेष आवश्यकता भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक तालिम, जनशक्ति विकास र शैक्षिक पूर्वाधार सुदृढीकरणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए। यस क्षेत्रमा बेलायतको अनुभव नेपालका लागि उपयोगी हुने विश्वास समेत व्यक्त गरे।

जवाफमा राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासमा बेलायत सरकार साझेदार बन्न इच्छुक रहेको बताए। उनले ‘ट्रान्सनेसनल एजुकेशन’ मार्फत बेलायती शैक्षिक प्रणाली र प्रविधिलाई नेपालको आवश्यकता अनुसार विस्तार गर्न सकिने सम्भावनाबारे धारणा राखे।

भेटमा शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा समेत सहकार्य बढाउने विषय उठाइएको थियो। पछिल्लो समय नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि बेलायत जाने क्रम बढ्दै गएको उल्लेख गर्दै दुवै देशबीच शैक्षिक सम्बन्धलाई अझ व्यवस्थित र संस्थागत बनाउनुपर्नेमा जोड दिइयो।

यस भेटवार्ताले शिक्षा, प्रविधि र जनशक्ति विकासका क्षेत्रमा नेपाल–बेलायत सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी दिनमा शिक्षक तालिम, विद्यालय सुधार र शैक्षिक साझेदारीसम्बन्धी ठोस कार्यक्रमहरू अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।