काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा विद्यार्थीहरूले शुक्रबारदेखि ‘भिक्षा देही’ अभियान सुरू गरेका हुन् । उच्च शिक्षामा सरकारको लगानी तथा बजेट विनियोजन वृद्धिका लागि सरकारको ध्यानाकर्षणका लागि अभियान सुरू गरेको विद्यार्थीहरूले बताएका छन् । सरकारी क्याम्पसहरू र क्याम्पसहरूका पूर्वाधारमा रहेको पछौटेपनको मूल कारक न्युन लगानी र बजेट विनियोजन भएको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूका अनुसार राष्ट्रिय शिक्षामा सरकारको बजेट केवल १०–१५ प्रतिशत रहँदै आएको छ । उक्त बजेटको ८–११ प्रतिशतमात्र मात्र उच्च शिक्षामा विनियोजन गरिन्छ । सुदृढ उच्च शिक्षा भएका मुलुकहरूले उच्च शिक्षालाई सुदृढीकरण गर्न शिक्षा बजेटको ५० प्रतिशत विनियोजन गर्ने गरेका छन् ।