काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछाने को आह्वानमा वैशाख ६ गते दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकले संगठन विस्तार र संरचनागत सुधारका महत्वपूर्ण निर्णय लिने तयारी गरेको हो ।
पार्टी स्रोतका अनुसार बैठकमा आगामी महाधिवेशन तथा जिल्ला अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विशेष छलफल हुने छ । त्यसका लागि ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ पारित गर्ने र महाधिवेशनका लागि कार्यविधि मस्यौदा समिति गठन गर्ने एजेन्डा प्रमुख रूपमा अघि सारिएको छ ।
यससँगै, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च विस्तार तथा विभिन्न विभागमा नयाँ मनोनयन गर्ने विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ । संगठनलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यले बैंक खाता सञ्चालनको नयाँ व्यवस्था तथा विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने प्रस्ताव पनि छलफलमा रहनेछ ।
सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने, आगामी केन्द्रीय समिति बैठकको तयारी अघि बढाउने तथा संसदीय दललाई प्राविधिक रूपमा सुदृढ बनाउने विषयमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ । पार्टीले लेवी व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

