काठमाडौँ । तराईको प्रमुख फलफूल उत्पादन क्षेत्रका रूपमा परिचित सिरहामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य गिरावट आउने संकेत देखिएको छ। सुरुआती चरणमा राम्रो मञ्जर लागे पनि ‘मधुवा’ रोगको प्रकोप र पछिल्लो समयको हावाहुरीका कारण फल झर्ने क्रम बढेपछि किसानहरू चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्र सिरहा का अनुसार जिल्लामा करिब ९ हजार २५ हेक्टर क्षेत्रफलमा फैलिएको आँपखेतीमा यसपटक उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो। तर रोग र प्रतिकूल मौसमका कारण अहिले करिब १० प्रतिशत मात्र फल बाँकी रहेको प्रारम्भिक मूल्यांकन छ।
केन्द्रका सूचना अधिकृत सुदीप खनालका अनुसार मञ्जर लाग्ने समयमा परेको वर्षा र त्यसपछिको हावाहुरीले टिकुला झर्ने समस्या तीव्र बनाएको हो। उनका अनुसार रोग नियन्त्रणका लागि प्रयास भए पनि अपेक्षित प्रभाव नदेखिँदा उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ। गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको थियो।
लहान नगरपालिका का कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले किसानहरूले ‘इमिडाक्लोप्रिड’ लगायतका विषादी प्रयोग गरे पनि रोग नियन्त्रण बाहिर गएको बताए। प्राविधिकहरूको निष्कर्षअनुसार मौसमीय असन्तुलनले समस्या झन् जटिल बनाएको हो।
आँपलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निराश छन्। लहान–२४ का किसान प्रमोद यादवले रोग नियन्त्रणसम्बन्धी ज्ञान र सीपको अभाव रहेको भन्दै सरकारी निकायबाट समयमै प्राविधिक सहयोग आवश्यक रहेको बताए। त्यस्तै, लहान–२२ का किसान रामवृक्ष यादवका अनुसार पछिल्लो हावाहुरीले बाँकी रहेका फलसमेत झारिदिएपछि लगानी उठ्ने सम्भावना न्यून बनेको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअघि नै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग विस्तार गर्ने योजना बनाएको जनाएको छ।

