काठमाडौँ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबारदेखि सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा आइतबार बिहानैदेखि राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५ / २५ मिटर विस्तारका लागि सडक क्षेत्रभित्रका संरचनाहरु हटाउन गर्न सुरु गरेको हो ।

विगत १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबारदेखि सुरु गरिएको हो । सडक विभागका ९ र महानगरपालिकाको ४ गरी १३ वटा डोजरले सडकको दायाँ–बायाँ २५ / २५ मिटर क्षेत्रमा पर्ने घर, भवनलगायतका संरचनाहरु आइतबार बिहान ५ बजेदेखि नै भत्काउन सुरु गरिएको सडक डिभिजन कार्यालयका नायब सुब्बा राजकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार, बिहानदेखि चिनीमिल आवास क्षेत्र, पावरहाउस चोक, मुर्ली, माईस्थान, घण्टाघर,  आदर्शनगर, रजतजयन्ती चोकमा एकैसाथ डोजर लगाएर सडकको दायाँ–बायाँ २५ / २५ मिटर क्षेत्रमा रहेका संरचनाहरु भत्काएर खाली गर्ने काम भइरहेको छ । यो कार्य नसकिदाँसम्म निरन्तर चलि रहने पनि उनले बताए