काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आज नेप्से १३.१७ अंकले ओरालो लाग्दै २८२५ अंकमा झरेको हो।

कारोबार सुरु भएको केही मिनेटमै सूचक २८४५ अंकसम्म पुगे पनि त्यो स्तर टिक्न नसक्दा दिनभर बजार दबाबमा रह्यो। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजार आज पुनः घट्दो लयमा फर्किएको हो।
कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ५ अर्ब ४३ करोडमा सीमित भएको छ। कुल सूचीकृत कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन्।

समूहगत सूचकतर्फ होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले बढ्दै एक्लै हरियो देखिएको छ। अन्य सबै समूह भने घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स लगायत अधिकांश समूहमा सामान्य गिरावट देखिएको छ।
यसैबीच, नयाँ लागू भएको १५ प्रतिशत प्राइस लिमिटको प्रभाव देखिन थालेको छ। सो व्यवस्थाअनुसार आज ४ कम्पनीको सेयर मूल्य अधिकतम १५ प्रतिशतले बढेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरका लगानीकर्ताले उच्च प्रतिफल पाएका छन्।
यस्तै, केही अन्य कम्पनीहरूको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ भने दोल्ती पावर र एसियन हाइड्रोपावरको मूल्यमा गिरावट देखिएको छ।
आजको कारोबारमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स बढी किनबेच भएका कम्पनीमा परेका छन्।
समग्रमा, नयाँ प्राइस लिमिट लागू भए पनि बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर देखिँदा सूचक र कारोबार दुवैमा गिरावट आएको विश्लेषण गरिएको छ।