त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक ७ घण्टा बन्द हुने भएको छ। विमानस्थलमा जारी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन यस्तो निर्णय गरिएको हो।

विमानस्थल कार्यालयका अनुसार आगामी जेठ ४ गतेसम्म हरेक राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा बन्द रहनेछ।

टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारी ले ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग छेउको ट्याक्सीवे निर्माण कार्यका कारण राति विमानस्थल बन्द गर्नुपरेको जानकारी दिए।

सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिने जनाइएको छ। यस अवधिमा उडान प्रभावित हुन सक्ने भएकाले हवाई सेवा प्रदायकलाई आवश्यक समायोजनसहित उडान तालिका व्यवस्थापन गर्न आग्रह गरिएको छ।