काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा भएको भीषण आगलागीमा दुई जनाको मृत्यु भएको छ।

बेल्टारस्थित लक्ष्मीनारायण खड्काको घरमा आज बिहान अचानक आगलागी हुँदा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट छिमेकी रवीन दास र सकल देवको घरमा समेत क्षति पुगेको छ।

आगो नियन्त्रणका लागि त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, प्रहरी टोली तथा स्थानीयवासी खटिएका थिए। संयुक्त प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।