काठमाडौं । नेपालमा आधुनिक न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक दिनेश नाथ गंगोल को ९२ वर्षको उमेरमा निधन भएको छ।

मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आजै उनकाे दाहसंस्कार गर्ने तयारी गरिएको छ।

डा. गंगोलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ। उनले आफ्नो जीवनकालभर न्युरोसर्जरी क्षेत्रमा मात्र होइन, विभिन्न जटिल शल्यक्रियामा समेत अग्रणी भूमिका निर्वाह गरेका थिए।

उनले पिट्युटरी ट्युमरको शल्यक्रिया, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक गरेका थिए।

चिकित्सा क्षेत्रमा उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको विकासलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ। सहकर्मी चिकित्सकहरूका अनुसार डा. गंगोल केवल कुशल सर्जन मात्र नभई प्रेरणादायी गुरुका रूपमा पनि परिचित थिए।

उनको निधनप्रति चिकित्सक समुदाय तथा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ।