काठमाडौं– दुर्गा प्रसाईं ले आफूलाई ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाउँदै सरकारले निजी क्षेत्रप्रति विभेद गरेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर स्वास्थ्य सेवा विस्तार गरेको भए पनि आफूहरूलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको गुनासो गरे।

उनले निजी क्षेत्रले जनतालाई सेवा प्रदान गर्दै पूर्वाधार निर्माण गरेको दाबी गर्दै राज्यबाट अपेक्षित सहयोग नपाएको बताए। “ऋण लिएर अस्पताल निर्माण गरेका छौं, जनताको सेवा गरेका छौं, तर हामीलाई नै माफिया भनिएको छ,” उनले भने।

प्रसाईंले सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमाथि प्रश्न उठाउँदै सेवा निःशुल्क बनाउनेभन्दा नागरिकले सहज रूपमा किन्न सक्ने हैसियत बनाउनु आवश्यक रहेको धारणा राखे।

त्यसैगरी, उनले मुलुकको अर्थतन्त्रमा प्रभाव पार्ने ‘डिप स्टेट’को विषय उठाउँदै यसको नियन्त्रण नभएसम्म सुधार सम्भव नभएको दाबी गरे।