काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार धितोपत्रसम्बन्धी विभिन्न कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले गोल्छालाई पक्राउ गरिएको हो। “प्रारम्भिक जाँचबुझका आधारमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,” उनले बताए।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा कसूर गरेको आशंकामा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर नक्सालबाट उनलाई पक्राउ गरिएको हो। हाल गोल्छालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
उक्त प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहेको आशंकामा पनि अनुसन्धान विस्तार गर्ने तयारी सीआईबीले गरेको छ।

