काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा क्षेत्रका सुकुम्वासी बस्ती हटाउने अभियानलाई आइतबार पुनः अघि बढाएको छ। वैशाख १३ गते बिहानै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोल क्षेत्रमा रहेका बस्ती भत्काउन डोजर परिचालन गरिएको हो।
बस्ती हटाउने कार्यअघि उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सम्भावित अवरोध र झडप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा बनाइएको महानगर स्रोतले जनाएको छ।
यसअघि शनिबार बस्ती खाली गराउने तयारी भए पनि स्थानीयको विरोधका कारण प्रक्रिया अवरुद्ध भएको थियो। राति महानगर र प्रहरी टोली बस्ती क्षेत्रमा पुगे पनि डोजरमाथि ढुंगामुढा भएपछि टोली फिर्ता हुन बाध्य भएको थियो।
यसैबीच, शनिबार नै थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गरिसकेको महानगरले मनोहरामा पनि सोही अभियानलाई निरन्तरता दिएको हो। महानगरले नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत बस्ती हटाउने जनाएको छ।