रुकुमपूर्व । हावाहुरीसँगै परेको असिनापानी र अविरल वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वर्षासँगै ढुंगा र लेदो सडकमा झरेपछि उक्त खण्डमा यातायात सेवा ठप्प बनेको हो । सडक अवरुद्ध हुँदा काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका कम्तीमा १० वटा रात्रिकालीन बस र ६ वटा मालवाहक ट्रक बीचमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । आकस्मिक सेवासमेत प्रभावित भएको बताइएको छ ।
अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी परिचालन गरेको छ । तर, निरन्तर ढुंगा र लेदो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच, हावाहुरी र वर्षाले स्थानीय बासिन्दाका केही घर तथा गहुँबालीमा समेत क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

