काठमाडौं– थापाथलीसहित बागमती किनारका विभिन्न स्थानबाट हटाइएका सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ मा रहेको सरकारी भवन तयारी अवस्थामा ल्याइँदै छ।
सरकारी स्रोतका अनुसार सुकुमबासी व्यवस्थापनका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा निर्माण गरिएका तीन भवनमध्ये एउटा भवनमा उनीहरूलाई राख्ने तयारी गरिएको हो। सम्बन्धित निकायले भवनको सरसफाइ, आधारभूत पूर्वाधार व्यवस्थापन तथा सुरक्षाको प्रबन्ध मिलाउने काम तीव्र पारेको जनाएको छ।
थापाथली लगायत क्षेत्रबाट हटाइएका परिवारलाई तत्काल सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको अधिकारीहरूले बताएका छन्। सुकुमबासीहरूको संख्या, परिवार संरचना र आवश्यकताका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसअघि बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीलाई हटाउने अभियानसँगै उनीहरूको पुनःस्थापना र वैकल्पिक व्यवस्थापनबारे बहस भइरहेका बेला सरकारले अस्थायी समाधानका रूपमा उक्त भवन प्रयोगमा ल्याउन लागेको हो।
सरकारले दीर्घकालीन समाधानका लागि एकीकृत योजना ल्याउने तयारीसमेत गरिरहेको बताइएको छ।

