काठमाडौं – सरकारले नारायणदत्त पौडेल लाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले उक्त निर्णयको जानकारी दिएका छन्।
नवनियुक्त आईजीपी पौडेलले वैशाख १८ गतेपछि सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्नेछन्। हालका आईजीपी राजु अर्याल को चार वर्षे कार्यकाल सोही दिन सकिँदैछ।
२०५४ चैत १८ गते नेपाल प्रहरीमा निरीक्षकबाट सेवा सुरु गरेका पौडेल २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। सुरक्षा सेवामा लामो अनुभव बटुलेका उनले विभिन्न जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शान्ति प्रक्रिया अवधिमा हतियार अनुगमनसम्बन्धी जिम्मेवारी पनि सम्हालेका थिए।
सशस्त्र प्रहरीमा रहँदा उनले सीमा सुरक्षा, मानव स्रोत व्यवस्थापन, प्रशासन तथा रणनीतिक योजना निर्माणका क्षेत्रमा काम गरेका छन्। एआईजीका रूपमा मानव स्रोत, सीमा तथा कार्य विभागको नेतृत्व गरिसकेका पौडेल अब संगठनको सर्वोच्च पदमा पुगेका छन्।
सरकारले अनुभव, नेतृत्व क्षमता र संगठनभित्रको योगदानलाई आधार बनाएर पौडेललाई आईजीपीमा नियुक्त गरेको जनाएको छ।

