काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेतृत्वस्तरमै एकैपटक ठूलो परिवर्तन आएको छ। नेप्सेका अध्यक्ष हेमन्त बस्यालले आफ्नो कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका थिए।

बस्यालले व्यक्तिगत तथा विशेष कारण देखाउँदै पद त्यागेको जनाइएको छ। उनी गत भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए।

अध्यक्षसँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पनि पदबाट राजीनामा दिएका छन्। उनले पनि अर्थमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन्। चापागाईंलाई २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सीईओमा नियुक्त गरेको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार अध्यक्ष बस्याल र सीईओ चापागाईं दुवैजनाको राजीनामा स्वीकृत भइसकेको छ। नेप्सेको नेतृत्वमा आएको यस अचानक परिवर्तनले सेयर बजारमा यसको प्रभाव कस्तो पर्ने भन्नेबारे चासो बढेको छ।