काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई कागजातमा “माननीय” सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
दलका अनुसार सांसदहरूको लेटरहेड, कार्ड तथा अन्य आधिकारिक कागजातमा एकरूपता कायम गर्न यो निर्देशन जारी गरिएको हो। अबदेखि रास्वपाका सांसदहरूले आफ्नो नामसँग “माननीय” शब्द प्रयोग नगर्ने बताइएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई अझ धेरै सिक्नुपर्ने आवश्यकता औंल्याउँदै मेन्टर र सल्लाहकारसँग काम गर्न सुझाव दिएका छन्। उनले अनुभव अभिवृद्धि र कामको प्रभावकारिता बढाउन सल्लाहकारहरूको सहयोग लिन आग्रह गरेका हुन्।
यस निर्णयलाई हालै विश्वराज पोखरेललगायत केही सांसद “माननीय” सम्बोधन प्रयोग गर्दा उत्पन्न विवादसँग जोडेर पनि हेरिएको छ। रास्वपाले यसअघि देखिएका यस्ता विवाद दोहोरिन नदिन आन्तरिक अनुशासन कडा बनाउने संकेत दिएको छ।

