काठमाडौ। नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो निर्वाचनको परिणामप्रति गम्भीर प्रश्न उठाएका छन्। रुकुमपश्चिमको मुसिकोटमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन प्रक्रिया र नतिजा दुवै “असामान्य र अस्वाभाविक” देखिएको बताएका हुन्।
उनका अनुसार विभिन्न स्थानबाट आएका रिपोर्टहरूले मत परिणामप्रति शंका उत्पन्न गरेका छन्। कतिपय उम्मेदवारले आफूले दिएको मत नै नपरेको गुनासो गरेका छन् भने केही स्थानमा अप्रत्याशित रूपमा अत्यधिक मत आएको पनि देखिएको उनले उल्लेख गरे। “यी सबै घटनाक्रमले निर्वाचन सामान्य नभएको संकेत गर्छ,” उनले भने।
उनले आफ्नो पार्टीले यस विषयलाई गम्भीर रूपमा लिएर विस्तृत अध्ययन र गहिरो अनुसन्धानको निष्कर्ष निकालेको जानकारी दिए। साथै, प्राप्त निर्वाचन परिणामलाई समग्रमा स्वीकार गर्दै सुधारका लागि पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रचण्डले वर्तमान सरकारप्रति आलोचनात्मक धारणा राख्दै सुकुमवासी व्यवस्थापन, ट्रेड युनियनसम्बन्धी निर्णय, विद्यार्थी आन्दोलनमाथिको हस्तक्षेप तथा संसद् स्थगनजस्ता कदमहरू असंवैधानिक भएको आरोप लगाए। उनले सरकारलाई लोकतान्त्रिक मूल्य र संविधानअनुसार अघि बढ्न आग्रह गरे।
आगामी दिनमा आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने, युवालाई नेतृत्वमा प्राथमिकता दिने तथा कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा जोड दिने उनले बताए। साथै, संविधान र गणतन्त्रको रक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्न दलहरूबीच सहकार्य आवश्यक रहेको पनि उनले उल्लेख गरे।

