काठमाडौं — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यसहित अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि यस्तो तयारी गरिएको हो।
स्रोतका अनुसार उपकुलपति दिपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले पद त्याग गर्ने निष्कर्षमा पुगेका हुन्। बिहीबार बिहान बसेको पदाधिकारी बैठकले नयाँ सरकारलाई काम गर्न सहज बनाउन मार्गप्रशस्त गर्ने निर्णय गरेको एक अधिकारीले बताए।
“नयाँ परिस्थितिमा विश्वविद्यालयको नेतृत्व हस्तान्तरण गरेर सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्य हो,” स्रोतले भन्यो।
पदाधिकारीहरूले आफ्नो राजीनामा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाउने तयारी गरेका छन्।

