काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। संघले शान्तिपूर्ण संघर्षमार्फत सरकारलाई दबाब दिँदै दीर्घकालीन समाधानको माग अघि सारेको छ।
संघका अध्यक्ष अमर परियारले जारी गरेको अपिलमा आन्दोलनलाई सफल बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सामाजिक संघ–संस्थासँग सहकार्य गर्न आह्वान गरिएको छ। साथै, समस्याको समाधानका लागि व्यापक जनसहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।
कार्यक्रमअनुसार पहिलो चरणमा वैशाख २० गतेसम्म विभिन्न तहका राजनीतिक नेतृत्वलाई आन्दोलनका उद्देश्यबारे जानकारी गराइनेछ। यस अवधिमा जनप्रतिनिधिहरूलाई फोन, मोबाइल तथा सामाजिक सञ्जालमार्फत भूमिहीनको समस्या समाधानमा स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरिनेछ।
दोस्रो चरणअन्तर्गत वैशाख २० देखि ३० गतेसम्म देशभर बैठक, भेला र संगठन विस्तार गर्ने योजना छ। यसै क्रममा संघर्ष समिति गठन गर्नुका साथै सरकारी निकायहरूमा ज्ञापनपत्र बुझाइनेछ। साथै, जबरजस्ती उठिवासको विरोधमा विशेष अभियान सञ्चालन गरिने संघले जनाएको छ।
संघले केही राजनीतिक दलका जिल्ला कार्यालयहरूमा समेत विरोधपत्र दर्ता गर्ने तयारी गरेको छ। वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।
त्यसपछि जेठ १ देखि ७ गतेसम्म देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरी जनप्रतिनिधिलाई फिर्ता बोलाउने दबाब सिर्जना गरिनेछ। माग पूरा नभए जेठ ७ पछि अनिश्चितकालीन आम हड्तालसम्म जाने चेतावनी संघले दिएको छ।
संघले भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउन, जबरजस्ती उठिवास रोक्न तथा संवैधानिक अधिकारको संरक्षण गर्न सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेको छ।

