काठमाडौँ – किरात राई समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व उभौली आज देशभरका भूमेस्थानमा पूजा–आराधना गरी मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले प्रकृतिप्रतिको श्रद्धा र कृषि जीवनसँगको गहिरो सम्बन्ध झल्काउँछ।
उभौली पर्वको मुख्य उद्देश्य राम्रो बालीको कामना गर्नु हो। बाली रोप्नुअघि गाउँगाउँका भूमेस्थानमा पुगेर प्रकृतिको पूजा गर्ने परम्परा छ। गर्मी मौसम सुरु भएसँगै बेँसीबाट लेकतिर उक्लिने चलन भएकाले यस पर्वलाई ‘उभौली’ नाम दिइएको मानिन्छ।
किरात समुदायको विश्वासअनुसार यस समयमा चराचुरुङ्गी, जङ्गली जनावर र नदीका माछासमेत चिसो ठाउँतर्फ उक्लिन्छन्। त्यसैले उभौलीलाई प्रकृति र जीवजन्तुको मौसमी परिवर्तनसँग जोडेर हेर्ने गरिन्छ।
यस अवसरमा परम्परागत चण्डी नाच तथा साकेला नाच प्रस्तुत गरिन्छ, जसले समुदायको सांस्कृतिक पहिचान झल्काउँछ। राजधानीमा ललितपुरको हात्तीवनस्थित साकेलास्थानमा पनि पूजा–आराधना तथा सामूहिक नाचगानको तयारी गरिएको छ।
यद्यपि, सबै स्थानमा एउटै मितिमा पर्व मनाइँदैन। खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा भने परम्पराअनुसार जेठ २२ गतेपछि मात्र उभौली मनाइन्छ।
किरात समुदायमा उभौली र उधौली दुई मुख्य पर्वका रूपमा रहेका छन्। उभौली उक्लिने (उत्तरायण) र उधौली ओरालिने (दक्षिणायन) जीवनचक्रसँग सम्बन्धित छन्। धेरैजसोले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली मार्गशीर्ष शुक्ल पूर्णिमामा मनाउने चलन रहेको छ।
प्रकृति, कृषि र संस्कृतिको संगमका रूपमा उभौली पर्वले समुदायबीच एकता, परम्परा र पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

