काठमाडौँ । देशभर आजदेखि मौसम अस्थिर रहने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार बदलीसँगै हावाहुरी, चट्याङ, असिना तथा मध्यमसम्मको वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

यी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही क्षेत्रमा पनि क्षणिक वर्षा र चट्याङको जोखिम रहेको छ।
राति पनि मौसमको अवस्था खासै परिवर्तन नहुने बताइएको छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा चट्याङ, हावाहुरी र वर्षा/हिमपात जारी रहने सम्भावना छ।

मौसमविद् विनोद पोखरेल का अनुसार आगामी एक हप्तासम्म देशका विभिन्न स्थानमा दैनिकजसो वर्षा हुने संकेत देखिएको छ। उनले केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने उल्लेख गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभाग नजिक विकसित न्यूनचापीय प्रणाली सक्रिय रहेकाले मौसम अस्थिर बनेको विभागले जनाएको छ।