काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड ले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा देशकै सबैभन्दा ठूलो प्रसारण लाइन निर्माणका लागि पाँच साझेदार कम्पनी छनोट गर्दै सम्झौताको प्रक्रिया अघि बढाएको छ।

कम्पनीले सुदूरपश्चिम क्षेत्रमा निर्माण हुने ‘पश्चिम सेती (बझाङ–वनलेक–दोधोधारा) ४०० केभी प्रसारण लाइन’ परियोजनाका लागि प्राविधिक र वित्तीय मूल्यांकनपछि पाँच कम्पनी छनोट गरी सम्झौताका लागि पत्राचार गरेको जनाएको छ।

प्रारम्भिक चरणमा आठ कम्पनीको आशयपत्र छनोट गरिएको थियो। त्यसपछि विस्तृत मूल्यांकनका आधारमा अन्तिम पाँच कम्पनी छनोट गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ ले जानकारी दिए। उनका अनुसार वैशाख महिनाभित्रै सबै कम्पनीसँग सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

छनोट भएका कम्पनीहरूमा सरकारी स्वामित्वका चिलिमे जलविद्युत कम्पनी लिमिटेडचैनपुर सेती जलविद्युत कम्पनी लिमिटेड रहेका छन् भने निजी क्षेत्रबाट समृद्धि इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेडसिउरी न्यादी पावर लिमिटेड सहभागी छन्।

परियोजना कार्यान्वयनका लागि विशेष उद्देश्यका साथ छुट्टै ‘स्पेसल पर्पज भेहिकल’ (एसपीभी) कम्पनी स्थापना गरिनेछ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी मोडालिटी तय गरिएको छ।

इक्विटी संरचनाअनुसार ग्रिड कम्पनीको २६ प्रतिशत, चिलिमे र चैनपुर सेतीको १२.५–१२.५ प्रतिशत हिस्सा रहनेछ। यसरी ५१ प्रतिशत लगानी सरकारी पक्षबाट हुने छ भने बाँकी ४९ प्रतिशत निजी क्षेत्रबाट आउनेछ।

करिब १४५ किलोमिटर लम्बाइको यस प्रसारण लाइनमार्फत २,५०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। बझाङको चैनपुर सबस्टेशनबाट सुरु हुने लाइन डोटीको वनलेक हुँदै कैलालीको दोदोधारा सबस्टेशनसम्म विस्तार हुने योजना छ।

यस प्रसारण लाइनमा करिब ३० वटा जलविद्युत् आयोजना जोडिने लक्ष्य राखिएको छ। तीमध्ये केही प्रमुख आयोजना जस्तै पश्चिम सेती जलविद्युत आयोजना, बझाङ अपर सेती, चैनपुर सेती आयोजना र सेती नदी–३ यसै लाइनमा जोडिने छन्।

यो परियोजना सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने ठूलो परिमाणको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समेट्ने प्रमुख आधारका रूपमा हेरिएको छ।

यसअघि पनि ग्रिड कम्पनीले पीपीपी मोडलमै ‘तमोर–ढुंगेसाँघु २२० केभी’ प्रसारण लाइन निर्माण गरिरहेको छ। तर पश्चिम सेती प्रसारण लाइन लम्बाइ र क्षमताका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने बताइएको छ।

परियोजनाको पूर्वतयारी कार्य सम्पन्न गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ भने त्यसपछि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।