काठमाडौं । लगातारको वर्षासँगै खसेका पहिराका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। आज बिहान मात्र विभिन्न जिल्लामा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको हो।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोला क्षेत्रको भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्ति लोकपथ तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिए। उनका अनुसार वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा गएको पहिरोका कारण उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन।

यसैबीच, वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र वैशाख १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने आंशिक रूपमा खुला भई एकतर्फी सञ्चालनमा आएका छन्।

प्रहरीले वर्षायाममा बाढी र पहिराको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा अत्यन्त सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।