काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षणका लागि नागरिक समाजको सशक्त खबरदारी अपरिहार्य रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता अझै विश्वव्यापी रूपमा जोखिममा रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि वर्तमान पुस्ताले निरन्तर संघर्ष गर्नुपर्ने बताए। “प्रेस स्वतन्त्रतालाई संविधानमा मात्र सीमित नराखी व्यवहारमै लागू गरिनुपर्छ,” उनले जोड दिए।

डा. मिश्रले दुईतिहाइ नजिकको बहुमत भएको सरकारले संसदमार्फत विधेयक ल्याउनुको सट्टा अध्यादेशमार्फत शासन चलाउनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। उनका अनुसार प्रत्येक कानुन संसदमा विधेयकका रूपमा प्रस्तुत भई पर्याप्त छलफलपछि मात्र पारित हुनुपर्छ।

उनले योग्यता प्रणाली (मेरिटोक्रेसी) बाट आएका पदाधिकारीहरूलाई अध्यादेशमार्फत अचानक पदमुक्त गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए।

त्यस्तै, सुकुम्बासी समस्या समाधानका नाममा मानवीय संवेदनशीलता बेवास्ता गर्दै डोजर चलाएर नागरिक विस्थापन गर्नु संविधानले प्रत्याभूत गरेको आवासको हकविपरीत भएको उनले उल्लेख गरे। “तथ्य छानबिन नगरी र कानुनी प्रमाणको बेवास्ता गर्दै नागरिकलाई विस्थापित गर्नु भर्त्सनायोग्य छ,” उनले भने।

यसैबीच, उनले राष्ट्रिय मानवअधिकार आयोगलाई जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन निष्पक्ष रूपमा सार्वजनिक गर्न पनि आग्रह गरेका छन्।