काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन आग्रह गर्दै सरकार निजी क्षेत्रसँग सहकार्यकै आधारमा अघि बढ्ने बताएका छन्। आइतबार काठमाडौंमा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा उनले व्यवसायीलाई त्रासमुक्त वातावरणमा काम गर्न दिने प्रतिबद्धता जनाए।

“तपाईंहरू डराउनुपर्ने कुनै कारण छैन, सरकार व्यवसायीलाई सहज र प्रोत्साहित गर्न चाहन्छ,” उनले भने। उनले सुशासन र आर्थिक सुधारका लागि केही कडाइ आवश्यक पर्न सक्ने उल्लेख गर्दै त्यसको उद्देश्य समग्र प्रणाली सुधार गर्नु रहेको स्पष्ट पारे।

लामिछानेले वास्तविक अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रका समस्या समाधान गर्ने स्पष्ट ‘रोडम्याप’ तयार भइसकेको जानकारी दिँदै सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य रहेको बताए।

यसैबीच, शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल विभिन्न स्थानमा अलमलमा परेका नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो।

सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन गरी होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको जनाएको छ। उक्त केन्द्रमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइएको छ।

सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिबद्धता दोहोर्‍याएको छ।