काठमाडौँभारतको परराष्ट्र मन्त्रालय ले कैलाश–मानसरोवर यात्रासँग सम्बन्धित लिपुलेक मार्ग र सीमा विवादबारे स्पष्टिकरण दिएको छ। मन्त्रालयले नेपालका तर्फबाट उठाइएका सीमा सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेको छ।

मन्त्रालयका आधिकारिक प्रवक्ताले सार्वजनिक गरेको वक्तव्यअनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश–मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको परम्परागत मार्ग भएको उल्लेख गरिएको छ। “यो कुनै नयाँ विकास होइन, दशकौँदेखि यही मार्ग प्रयोग हुँदै आएको छ,” वक्तव्यमा भनिएको छ।

भारतले नेपालले उठाएको सीमा दाबीलाई एकपक्षीय रूपमा ‘क्षेत्र विस्तारको प्रयास’ भएको आरोप लगाउँदै यस्तो दाबी स्वीकार्य नहुने स्पष्ट पारेको छ।

यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्त्व दिँदै सीमा विवादलगायत बाँकी विषयहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको जनाएको छ। “नेपालसँग सबै विषयमा रचनात्मक संवादका लागि भारत खुला छ,” वक्तव्यमा उल्लेख छ।

हालै कैलाश–मानसरोवर यात्राको सन्दर्भमा लिपुलेक मार्गको प्रयोगलाई लिएर नेपाल–भारतबीच पुनः सीमा विवाद चर्किने संकेत देखिएको छ।