काठमाडौं। सरकारले लिपुलेकसहित सीमा विवादका विषयमा नेपालको अडान स्पष्ट र अडिग रहेको दोहोर्‍याएको छ। ती क्षेत्रहरू नेपाली भूभाग भएको विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमा सम्बन्धी नेपालको धारणा निरन्तर र परिवर्तन नभएको स्पष्ट पारे।

उनका अनुसार भारततर्फबाट हालै आएको भनिएको वक्तव्य तथा नेपालले सीमा विस्तार गर्न खोजेको जस्तो आशयप्रति नेपालले असहमति जनाएको छ। “ती क्षेत्रहरू ऐतिहासिक रूपमा नेपालकै भूभाग हुन्, यसलाई सीमा विस्तार भन्नु गलत व्याख्या हो,” उनले भने।

प्रवक्ता पोखरेलले परराष्ट्र मन्त्रालयले यसअघि नै सीमा विवादबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सो ‘नोट’ औपचारिक कूटनीतिक माध्यमबाट सम्बन्धित पक्षलाई पठाइएको जानकारी दिए।

सरकारले सीमा समस्या समाधानका लागि कूटनीतिक संवादलाई प्राथमिकतामा राखेको छ। उच्चस्तरीय वार्ता र आपसी सहकार्यमार्फत ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दीर्घकालीन समाधान खोजिने सरकारको भनाइ छ।