काठमाडौँ । लगातार वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकदेखि सिन्धुलीसम्मको सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सुरक्षा जोखिम बढेपछि सोमबार साँझदेखि उक्त निर्णय लागू गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्ध नगरपालिका–स्थित कटुञ्जेको चौकीडाँडादेखि नेपालथोकसम्मको सडकखण्डमा यातायात रोकेको हो। रोशी खोलामा आएको तीव्र बाढीले सडकमा थप जोखिम सिर्जना गरेपछि साँझ ५ बजेदेखि सवारी आवागमन बन्द गरिएको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
प्रहरीले सर्वसाधारणलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अर्को सूचना नआएसम्म उक्त खण्ड प्रयोग नगर्न अनुरोध गरिएको छ।
यसअघि पनि रोशी खोलाको बाढीले पटक–पटक सडकमा बनाइएका अस्थायी डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध हुँदै आएको थियो। वैशाख दोस्रो सातामा समेत बाढीका कारण सडक दुई दिनसम्म बन्द भएको थियो भने करिब चार किलोमिटर क्षेत्रमा डाइभर्सन बगाएको थियो।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडकमा क्षति पुर्याएपछि हाल खोलामै अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। अहिले उक्त क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको जनाइएको छ।
राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र नेपालथोक क्षेत्रमा रोकेर राखिएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।

