काठमाडौं । हर्कराज राईले वर्तमान सरकारलाई लक्षित गर्दै एक खुला पत्र सार्वजनिक गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद राईले देशको सीमा सुरक्षा, कूटनीतिक सक्रियता र सुशासनका विषयमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।
पत्रमा राईले नेपाल–भारत सीमा क्षेत्रमा देखिएको गतिविधि र विशेषगरी लिपुलेक–कैलाश मानसरोवर मार्गको विषयलाई उठाउँदै सरकारले समयमै कूटनीतिक पहल नगरेको आरोप लगाएका छन्। उनले चार पक्षीय वार्तामार्फत सीमा विवाद समाधान गर्नुपर्ने र सीमामा सेना सुदृढ रूपमा परिचालन गर्नुपर्ने बताएका छन्।
त्यस्तै, उनले सरकारको आर्थिक व्यवस्थापन र विपद् व्यवस्थापन क्षमतामाथि पनि प्रश्न उठाएका छन्। देशभर बढ्दो प्राकृतिक विपद्, सडक अवरोध र जनजीवन प्रभावित हुँदा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको आरोप छ। विदेशी ऋणको प्रयोग, आर्थिक सुधार र राज्य सञ्चालनमा देखिएको असन्तुलनप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।
राईले बजेट निर्माण प्रक्रियामा जनताका वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै, सरकारले पारदर्शी रूपमा जनतालाई जानकारी दिनुपर्ने र आवश्यक परे पत्रकार सम्मेलनमार्फत स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।
खुला पत्रको अन्त्यमा उनले सरकारलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्दै जनताको विश्वास जोगाउन ठोस कदम चाल्न चेतावनी दिएका छन्।

