काठमाडौं । निर्माण व्यवसायी ध्रुव बहादुर कुँवर पक्राउ परेका छन्। कैलालीको धनगढी–४ स्थित आफ्नै निवासबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ‘ध्रुवतारा निर्माण सेवा’ मार्फत ठेक्कापट्टाको काम गर्दै आएका कुँवरलाई सहरी विकास मन्त्रालयबाट आएको पत्रको आधारमा पक्राउ गरिएको हो। अछाम जिल्लाको सदरमुकाम नगरपालिकामा सञ्चालनमा रहेका सडक, भवन तथा पार्क निर्माण सम्बन्धी काममा सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै सन्तोष गुरुङले २०८३ वैशाख ११ गते मन्त्रालयमा निवेदन दिएका थिए।

उक्त निवेदनमा करारअनुसार कारबाही गरिदिन माग गर्दै गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा समेत उजुरी दर्ता गरिएको थियो। सोही आधारमा प्रहरीले वैशाख २२ गते बिहान कुँवरलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दका अनुसार कुँवरलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। यसैबीच, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पनि उनलाई यथाशीघ्र उपस्थित हुन आग्रह गरेको छ।