काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सर्वोच्च अदालतको संवैधानिक व्याख्या सबै पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय परिषद्मा तीन जनाको उपस्थितिलाई बहुमत मान्ने व्यवस्थातर्फ संकेत गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्पष्ट बहुमतको सिद्धान्त नै लागू हुने धारणा राखेका हुन् ।
‘संविधानको धारा १२८(४) अनुसार सर्वोच्च अदालतको व्याख्या सबैले मान्नुपर्छ,’ उनले भने, ‘बहुमत भन्नका लागि बहुसंख्या अनिवार्य हुन्छ ।’
शर्माले १४ जेठ २०८१ मा सर्वोच्च अदालत ले गरेको गण्डकी प्रदेशसभा सम्बन्धी फैसलाको पनि स्मरण गराएका छन् । उक्त फैसलामा ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ३१ सदस्य आवश्यक पर्ने व्याख्या गरिएको थियो ।
उनले लोकतान्त्रिक मुलुकहरूमा बहुमतको मान्यता स्पष्ट रहेको उल्लेख गर्दै उत्तर कोरियाबाहेक विश्वभर संवैधानिक अभ्यास बहुसंख्याको आधारमा चल्ने बताएका छन् ।

