काठमाडौं । विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि गठन गरिएको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो ।
आवेदन खुला गरिएका विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन् ।
समितिले बिहीबार स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधिसमेत सार्वजनिक गरेको जनाएको छ ।

