काठमाडौं । परराष्ट्र मन्त्रालय ले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने नेपालको नीति पुनः स्पष्ट गरेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले नेपाल आफ्नो सीमा सम्बन्धी अडानमा स्पष्ट र दृढ रहेको बताएका हुन् ।

उनले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेककालापानी नेपालको भूभाग भएको विषय ऐतिहासिक सन्धि, नक्सा र प्रमाणले पुष्टि गर्ने बताएका छन् ।

प्रवक्ता क्षेत्रीका अनुसार नेपालले आफ्नो धारणा भारत र चीन दुवै देशसमक्ष कूटनीतिक माध्यमबाट पुनः जानकारी गराइसकेको छ । सीमा सम्बन्धी विषयलाई संवाद र आपसी समझदारीमार्फत समाधान गर्नुपर्नेमा सरकारको जोड रहेको उनले बताए ।

उनले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै सीमा समस्याको दीर्घकालीन समाधानका लागि निरन्तर कूटनीतिक पहल जारी रहने पनि स्पष्ट पारे ।