काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मासम्बन्धी उजुरी तथा सूचना संकलन गर्न १० दिने समय दिने निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र इच्छुक व्यक्तिले स्पष्ट आधार र प्रमाणसहित विद्युतीय वा अन्य माध्यमबाट उजुरी तथा सूचना पेश गर्न सक्नेछन् ।

समितिले प्राप्त उजुरीहरू जेठ ५ गते बस्ने बैठकमा खोल्ने र त्यसको अध्ययन प्रक्रिया सुरु गर्ने जनाएको छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग संसदीय सुनुवाइ गरिनेछ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान रहेको छ ।

यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।