काठमाडौं। काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनासम्म निलम्बन गर्न सिफारिस गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको भेटिएपछि ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको जनाएको छ।

ट्राफिक प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार बारम्बार कारबाही र जरिवाना हुँदा पनि नियम उल्लङ्घन दोहोर्‍याउने प्रवृत्ति नरोएकाले कडा कदम चालिएको हो। उनले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेको जानकारी दिए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यस्तो व्यवस्था गरिएको हो। सोही प्रावधानअनुसार नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लाइसेन्स निलम्बन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पटक–पटक जरिवाना तिर्दा पनि चालकहरूमा नियम पालना गर्ने बानी नबसेपछि अब कडा निगरानी र कारबाहीलाई प्राथमिकता दिइएको छ। लाइसेन्स निलम्बनमा परेका चालकहरूले आगामी ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।