काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकको राष्ट्रिय स्वाधीनता गम्भीर चुनौतीको अवस्थामा पुगेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय देशमा देखिएका राजनीतिक तथा सामाजिक परिघटनाप्रति चिन्ता व्यक्त गरे। जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमहरू सकारात्मक दिशामा नदेखिएको उनको भनाइ थियो।

यद्यपि, उनले ती नकारात्मक अवस्थाभित्र पनि एउटा सकारात्मक संकेत देखिएको उल्लेख गरे। अहिले विभिन्न राजनीतिक शक्ति र समूहभित्र एकताको आवश्यकता महसुस हुन थालेको उनले बताए।

प्रचण्डले भदौ २३ र २४ पछिका घटनाक्रमले देशको राजनीतिक वातावरण थप जटिल बनेको उल्लेख गर्दै त्यसले कम्युनिष्ट आन्दोलनभित्र समेत नयाँ बहस जन्माएको बताए।

उनले सबै कम्युनिष्ट दलहरूबीच पुनः एकताको आवाज उठ्न थालेको भन्दै नेतृत्व तहले त्यसलाई गम्भीर रूपमा लिएर अघि बढ्नुपर्ने समय आएको बताए। उनका अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर देशको राष्ट्रिय हित र राजनीतिक स्थायित्वका लागि साझा पहल आवश्यक छ।