काठमाडौं । प्रधानमन्त्री बालेन शाह लगातार दोस्रो पटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्रीसँग सुकुम्वासी बस्ती व्यवस्थापन, सुरक्षा प्रशासन तथा समसामयिक राजनीतिक विषयमा जवाफ माग्नुपर्ने एजेन्डा रहे पनि उनी बैठकमा उपस्थित नभएपछि कांग्रेस सांसदहरूले असन्तुष्टि जनाउँदै बैठक कक्ष छाडेका हुन्।

बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निस्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै समितिका सभापति हरि ढकालको ध्यानाकर्षण गराएका थिए।

नेता आङ्देम्बेले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले संसदीय समितिको बैठकलाई बेवास्ता गर्नु लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासमाथिको प्रश्न भएको टिप्पणी गरे। उनले आगामी बैठकमा प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित भए मात्र आफूहरू सहभागी हुने स्पष्ट पारे।

प्रधानमन्त्रीको अनुपस्थितिपछि प्रतिपक्षी दलले बहिष्कार गरेसँगै समितिको बैठक प्रभावित भएको छ। यस घटनाले सरकार र संसदीय समितिबीचको समन्वय तथा जवाफदेहितामाथि समेत नयाँ बहस सुरु भएको छ।