काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।

यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिनेछ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा यसपटक तुलनात्मक रूपमा छिट्टै सार्वजनिक गरिएको हो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा प्रकाशन प्रक्रिया सहज र द्रुत भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईईका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न आग्रह गरेको छ।