काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अघि बढ्नुअघि त्यसको उद्देश्य र आवश्यकता स्पष्ट हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले सरकारले संविधान संशोधनको विषय अघि बढाउन चाहेको भए कसका लागि र किन संशोधन गर्न लागिएको हो भन्नेबारे स्पष्ट धारणा आउनुपर्ने बताएका हुन ।

उनले संविधानमै १० वर्षपछि समीक्षा गर्ने व्यवस्था उल्लेख रहेको स्मरण गराउँदै संशोधनको बहसलाई गम्भीरता र जिम्मेवारीका साथ अघि बढाउनुपर्ने धारणा राखेका छन ।

“संविधान संशोधन लोकतन्त्रलाई अझ सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्छ,” उनले भने ।

प्रचण्डले संविधान संशोधन अत्यन्त संवेदनशील र गम्भीर विषय भएकाले यसलाई हल्का रूपमा लिन नहुने चेतावनी दिए । उनले यस्तो विषयमा व्यापक छलफल, विवेक र संयम आवश्यक पर्ने उल्लेख गरेका छन ।

उनका अनुसार राजनीतिक दलहरूबीच सहमति, संवाद र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढाइनु उपयुक्त हुन्छ।