काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलको अवरोधपछि फेरि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सदनमा उपस्थिति र जवाफको माग गर्दै अवरोध जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

यसअघि पनि सोही माग राख्दै विपक्षीले बैठक अवरुद्ध गरेपछि संसद् केही समयका लागि स्थगित गरिएको थियो। आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची थियो। प्रधानमन्त्रीले उक्त प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रस्तुत गराउन तोकेपछि सभामुखले उनलाई रोस्ट्रममा बोलाएका थिए।

तर अर्थमन्त्रीले प्रस्ताव पेस गर्न थालेलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलपछि बैठक पुनः सुरु भए पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन र त्यसका लागि सभामुखबाट रुलिङ गर्न माग दोहोर्‍याएको थियो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन नसकिने बताएका छन्। सभामुख अर्यालले भने तत्काल रुलिङ नगर्ने र प्रधानमन्त्रीसँग छलफल तय भइसकेकाले संवादपछि मात्रै भोलिको कार्यसूचीअघि विपक्षीसँग थप छलफल गर्ने बताएका छन्।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीको अडान कायम रहँदा नीति तथा कार्यक्रममाथिको छलफल अन्योलमा परेको छ।