काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले विस्थापित सुकुम्वासी परिवारलाई लालपुर्जा प्राप्त नहुन्जेलसम्म सरकारले मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।

बिहीबार बसेको समितिको बैठकमा सभापति ढकालले काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीन तथा सुकुम्वासी परिवारको स्क्रिनिङ भइरहेको जानकारी दिँदै घरभाडा सहायता कार्यक्रमका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको बताए ।

उनका अनुसार शहरी विकास मन्त्रालयले उक्त कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्थापन भइसकेको जानकारी समितिलाई गराएको छ । सरकारले लालपुर्जा वितरण प्रक्रिया पूरा नहुँदासम्म प्रभावित परिवारलाई अस्थायी राहतस्वरूप मासिक भाडा उपलब्ध गराउने तयारी अघि बढाएको हो ।

बैठकमा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाहरूका लागि पोषणसम्बन्धी विशेष व्यवस्थासमेत मिलाइएको जानकारी सरकारी पक्षले दिएको थियो ।

यसैबीच, समितिले सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिबारे वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।