काठमाडौं — नेपाली सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट देखिएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २७३० बिन्दुमा झरेको हो। यसअघि मंगलबार ३९ अंक र बुधबार ४ अंकले बजार ओरालो लागेको थियो।
बजार घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। अघिल्लो दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार यो बढेर ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
आजको कारोबारमा ८० कम्पनीको शेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत रूपमा व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेका छन्। बाँकी अधिकांश समूह राताम्मे बनेका छन्, जसमा ‘अन्य’ समूह सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ।
उपसमूहतर्फ बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स तथा निर्जीवन बीमा समूहमा गिरावट देखिएको छ।
व्यक्तिगत कम्पनीतर्फ युनियन हाइड्रोपावर सबैभन्दा धेरै ९.७९ प्रतिशतले उकालो लागेको छ। त्यसपछि क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.२२ प्रतिशत र सामुदायिक लघुवित्त २.५० प्रतिशतले बढेका छन्।
यता एसियन हाइड्रोपावर सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ। साथै हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर पनि उल्लेख्य गिरावटमा परेका छन्।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी अग्रस्थानमा रहेका छन्।
लगातारको गिरावटले लगानीकर्तामा केही चिन्ता थपिए पनि कारोबार रकम बढ्नुले बजारमा सक्रियता कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

