काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम राया ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन्।

संवैधानिक व्यवस्था अनुसार सरकारी निकायहरूको आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा लेखा परीक्षणसम्बन्धी विवरण समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो।

प्रतिवेदनमा संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूको आर्थिक कारोबार, बेरुजु अवस्था, सार्वजनिक खर्चको पारदर्शिता र वित्तीय अनुशासनसम्बन्धी विषय समेटिएको बताइएको छ।

शीतल निवासमा सम्पन्न कार्यक्रममा उच्च सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। महालेखापरीक्षकको प्रतिवेदनलाई सार्वजनिक वित्त व्यवस्थापन र सुशासनको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिन्छ।