काठमाडौँ– काठमाडौँको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला सुरु भएको छ। ‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू दर्शनका लागि पुगेका छन्।
धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको विशेष पूजा–आराधना गर्नाले पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास छ। यही आस्थाका कारण हरेक दिन बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीहरूको भीड बढ्न थालेको छ।
मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार तथा माछाको मुखबाट प्रकट भएको भगवान् मत्स्यनारायणको मूर्ति मुख्य आकर्षण बनेको छ। चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्तिको दर्शन गर्न भक्तजन उत्साहित देखिएका छन्।
पुराणअनुसार भगवान् विष्णुको पहिलो अवतार मत्स्य अवतार मानिन्छ। धार्मिक विश्वासअनुसार प्रलयकालमा भगवान्ले मत्स्यरूप धारण गरी वेदहरूको रक्षा गरेका थिए। यही ऐतिहासिक तथा धार्मिक महत्त्वका कारण पुरुषोत्तम मासमा मच्छेनारायण मन्दिरमा विशेष मेला लाग्ने परम्परा रहँदै आएको छ।
मेला अवधिभर मन्दिर क्षेत्रमा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

